विराटनगर: बिजुली आपूर्ति नियमित नहुँदा उद्योग–व्यवसाय क्षेत्रमा नकारात्मक असर गरिरहेको भन्दै उद्योगीहरुले यसको समाधान गर्न माग गरेका छन् ।सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठघण्टा लोडसेडिङ भइरहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले नियमित विद्युत आपूर्तिको माग गरेको हो ।
विद्युत प्राधिकरणले बिना सूचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारका लागि आग्रह गरेको छ ।अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगहरुको सञ्चालनमा अवरोध पुग्नु गलत हुने बताउँदै संगठनले समस्या समाधानका लागि सरोकारवाला निकायले चासो दिनुपर्ने जनाएको छ ।
संगठनका अध्यक्ष राकेश सुरानाले विज्ञप्ति जारी गर्दै उत्पादन क्षेत्रमा विद्युत आपूर्ति बन्द हुदाँ त्यसको असर उपभोक्तामा पर्ने जनाउँदै बिद्युत नियमितताको जरुरी रहेको उल्लेख गरेका छन् ।निरन्तर सञ्चालनमा रहनु पर्ने उद्योगहरुमा पूर्वसूचना बिना विद्युत आपूर्ति बन्द गरिंदा उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेरजाने, मेसिन विग्रनुका साथै श्रमिक व्यवस्थापनमा कठिनाइ हुने संगठनको भनाइ छ ।
यसले गर्दा अनावश्यक आर्थिक भार वहन गर्नु परिरहेको प्रति गम्भीर हुन आग्रह गरिएको छ । उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि विद्युत प्राधिकरण तथा सरकारका निकायहरु समक्ष संगठनले आग्रह गरेको छ ।